top of page
  • Writer's pictureGuman Sing Thapa

मिन दर्लामी बने चार्टर्ड फाइनान्सियल एडभाइजर


लण्डन । बेलायतमा लामो समयदेखि वित्तीय परामर्श सेवा दिँदै आइरहेका फाइनान्सियल एडभाइजर मिन दर्लामीमगर अब चार्टर्ड फाइनान्सियल एडभाइजर बनेका छन् ।

उनले हालै लण्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैँकिङबाट सो परीक्षा उत्तीर्ण गरी चार्टर्ड फाइनान्सियल एडभाइजर बन्न सफल भएका हुन् ।

उनी सम्भवत बेलायतको पहिलो नेपाली चार्टर्ड फाइनान्सियल एडभाइजर हुन् ।

दर्लामीले पेन्सन ट्रान्सफर, ट्याक्स इफिसियन्ट इन्भेष्टमेन्ट एण्ड स्टेट प्लानिङ, इन्भेष्टमेण्टमा विशेष दक्षता हासिल गरेका छन् ।

फाइनान्सियल प्लानिङमा एडभान्स्ड डिप्लोमा गरी सम्बन्धित प्रोफेसनल्स निकायको सदस्य भएको र कम्तीमा पाँच वर्षको पेशागत अनुभव भएको व्यक्तिले चार्टर्ड फाइनान्सियल एडभाइजरको अध्ययन गर्न पाउँछन् ।

वित्तीय क्षेत्रमा कुनै पनि विषयमा विशेषज्ञता हासिल गर्नका लागि यस कोर्सको अध्ययन गर्ने गरिन्छ । चार्टर्ड उपाधि पाउनका लागि निकै कडा परीक्षा पार गर्नुपर्ने हुन्छ । चार्टर्ड एडभाइजरलाई राम्रो जानकारीसहितको वित्तीय योजना तथा सल्लाहका लागि विश्वसनीय मानिन्छ ।

चार्टर्ड फाइनान्सियल एडभाइजर बनेपछि सेवाग्राहीप्रति अतिरिक्त जिम्मेवारी र प्रतिवद्धता थपिएको उनले बताए । यस्तै सेवाग्राहीहरुले चार्टर्ड एडभाइजरको विशेषज्ञता र बृहत्तर जानकारीसहितको वित्तीय योजना तथा सल्लाह अझै ढुक्क भएर आफूसित सेवा लिन सक्ने दर्लामीले बताए ।

दर्लामी सन् २०१५ मा नै फाइनान्सियल एडभाइजर बनेका थिए । उनी लण्डनमा रहेको ए स्टार फाइनान्सियल सोलुसन्स सर्भिसेजका प्रबन्ध निर्देशक हुन् ।

सो कम्पनीमार्फत उनले इन्स्योरेन्स, पेन्सन, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै) तथा विल, बिज्नेस प्रोटेक्सन, इन्कम प्रोटेक्सन एण्ड फ्यामिली इन्कम विनिफिट्स र इन्भेष्टमेण्ट लगायतका विषयमा परामर्श दिँदै आएका छन् ।

टप टेन एडभाइजरमा ह्याट्रिक

यसैबीच, दर्लामी लगातार तेस्रो वर्ष टप टेन एड्भाइजर अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतको फाइनान्सियल नेटवर्क क्षेत्रमा प्रतिष्ठित संस्था न्यू लिफ डिस्ट्रिव्यूसन लिमिटेडबाट उनी उक्त अवार्डले सम्मानित भएका हुन् । न्यू लिफको मातहतमा बेलायतमा करिब दुई सयभन्दा बढी वित्तीय, मोर्गेज एण्ड प्रोटेक्सन सल्लाहकारहरु कार्यरत छन् ।

दर्लामीले सन् २०१९, २०२० र २०२१ मा लगातार सो अवार्ड पाएका हुन् । यस्तै, उनले सन् २०२१ का लागि प्रोटेक्सन क्षेत्रमा टप एडभाइजरको अवार्ड पनि पाएका छन् । यस्ता अवार्डले आफूलाई आफ्नो क्षेत्रमा थप जिम्मेवार बनाएको दर्लामीले बताए ।

गुल्मी भार्सेमा जन्मिएका दर्लामी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल तहको अध्ययन सकेपछि उच्च शिक्षाका लागि काठमाण्डौंमा आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएट गर्न स्वीट्जरल्याण्ड गए । साइप्रसबाट सन् २००१ मा एमबीए उत्तLर्ण गरेपछि उनी नेपालको पर्यटन बजार सम्बन्धमा विद्यावारिधि (पिएचडी) गर्न युके आए । उनले युकेमा प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे ।

त्यसपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । केही समय कलेज व्यवसायको समेत अनुभव लिएका दर्लामीले सन् २०१२ मा बेलायतमा शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स युके (शुरुवातको एक्सेस फाइनान्सियल सर्भिसेस) ले एक दशकको यात्रा पूरा गरिसकेको छ । लन्डन हयाङर लेनमा मुख्य कार्यालय रहेको ए स्टारले, आसफोर्ड, फार्नबोरो, रेडिङमा पनि शाखा खोली सेवा दिँदै आएको छ ।

85 views0 comments
bottom of page